१४ सय किशोरीलाई आत्मरक्षा तालिम

७ प्रदेश खेलकुद समाचार

धनगढी |
बलात्कारसहित महिला हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्यले धनगढीमा किशोरी र युवतीहरूलाई आत्मरक्षा तालिम दिन थालिएको छ । धनगढी रंगशालामा सञ्चालित तालिममा किशोरी, युवती र महिला गरी १४ सय सहभागी छन् ।

शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यन्त्री त्रिलोचन भट्टले तालिमको उद्घाटन गरेका छन् । तालिम १ सातासम्म सञ्चालन हुनेछ । धनगढीका विभिन्न स्कुल, कलेजमा अध्ययनरत किशोरी र युवतीहरू तालिममा सहभागी भएका हुन् ।

तालिममा सहभागीलाई मुक्का, पन्च, किक प्रहार गर्नेजस्ता आत्मरक्षाका उपाय सिकाइने आयोजक नेपाल गोजुरियो कराँते दो महासंघका महासचिव प्रकाशकुमार चन्दले बताए । तालिमले महिलालाई यौनजन्य हिंसाबाट जोगाउन मद्दत गर्ने चन्दको भनाइ छ । तालिमबाट आत्मरक्षाका उपाय सिक्नुका साथै किशोरी र युवतीमा आत्मविश्वाससमेत बढ्ने अपेक्षा महिला अधिकारकर्मीहरूले गरेका छन् ।

तालिमले आत्मविश्वास बढ्ने
अधिकारकर्मी बिनु रानाले तालिम लिएपछि महिलामा आत्मरक्षाको सीप र आत्मविश्वास विकास हुने विश्वास व्यक्त गरिन् । ‘यो तालिमपछि किशोरीहरू केही हदसम्म आत्मरक्षा गर्न सक्षम हुन्छन्,’ उनले भनिन्, ‘यसबाट हिंसाका घटनामा पनि कमी आउने अपेक्षा गरेका छौँ ।’ ओरेक नेपाल कैलालीकी संयोजकसमेत रहेकी रानाले हिंसा न्यूनीकरणका लागि किशोरीहरू शारीरिक रूपमा पनि सक्षम हुनुपर्ने बताइन् ।

कैलाली–कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशभरि बलात्कार, बलात्कारपछि हत्या र बलात्कारको प्रयासका घटना बढेका छन् । कैलाली र कञ्चनपुरमा मात्र असारयता तीनजना किशोरीको बलात्कारपछि हत्या भएको छ । ४० भन्दा बढी बलात्कार र बलात्कारको प्रयासका घटना सार्वजनिक भएका छन् ।

अधिकारकर्मी निर्मला बागचन्दले जताततै बलात्कारका घटना बढेका वेला आत्मरक्षा तालिमले घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । तालिममा शारीरिक अभ्याससँगै मनोपरामर्श पनि प्रदान गरिनेछ ।

हिंसाविरोधी अभियान चलाउँछौँ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिलामाथि हुने हिंसाका घटना न्यूनीकरणका लागि प्रदेश सरकारले हिंसाविरुद्धको अभियान सञ्चालन गर्ने बताएका छन् । आत्मरक्षा तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले परम्परागत सामाजिक कुरीति र कुसंस्कारका कारण महिला हिंसाका घटना बढेको बताए ।

‘आत्मरक्षा तालिमले महिलामा आत्मविश्वास बढाउँछ,’ उनले भने, ‘यस्ता तालिम प्रदेशका अन्य जिल्लामा पनि सञ्चालन गर्नेछौँ ।’ कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले हिंसाविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

नयाँ पत्रिका दैनिक बाट साभार ।