नेपाली चलचित्रको बजार राम्रो, नायिकालार्इ हेर्ने नजर नराम्रो !

अन्तर्वार्ता बलिउड/हलिउड मनोरञ्जन मोडल

नेपाली चलचित्रको बजार राम्रो, नायिकालार्इ हेर्ने नजर नराम्रो !

रेखा थापा
दशैंका बेलामा मोरङ गएँ । जन्मिएको ठाउँमा पनि गएँ । त्यो मोरङको क्षेत्र नम्बर १ मा पर्छ । त्यहाँ जाँदा मलाई तपाई अब गाउँतिरै आउनुपर्‍यो भने । गाउँमा जाँदा र अब शहर केन्द्रित हुनुभन्दा गाउँतिरै गएर बस्नुपर्छ कि जस्तो महसुस भयो ।                                                                      अब कमसेकम गाउँमा आवत-जावत बाक्लो बनाउनुपर्ने रहेछ भन्ने मलाई महसुस भयो ।

अचेल गाउँघर त काठमाडौंभन्दा राम्रो भएको रहेछ ।

मलाई त काठमाडौंभन्दा गाउँ अझ बढी राम्रो लाग्यो ।

मलाई चलचित्रकर्मी, नायिका, अभिनेत्री, निर्देशक, निर्माता जे भनेपछि हुन्छ, तर मेरो परिचय त रेखा थापा नै हो । मैले मालिकासम्म आइपुग्दा ५ वटा फिल्म बनाइसकें । रेखा थापाबाट बनेका १५ वटा भए होलान् । नायिकाका रुपमा कतिवटा चलचित्रमा खेलें भन्ने त गन्न सकिन्न । त्यस्ता चलचित्रहरु डेढ सयभन्दा बढी होलान् ।

हामी कलाकारहरुलाई दशैंमा सधैं प्रेसर हुन्छ । यही बेलामा फिल्म रिलिज भइरहेका हुन्छन् । मेरो नयाँ चलचित्र मालिका पनि कात्तिक १६ गतेदेखि रिलिज हुँदैछ । अहिले म त्यसैको तयारीमा व्यस्त छु ।

प्रियंका चोपडा बुढी नहुने, हामी कसरी भयौं ?

नायिकाहरुलाई हेर्ने हाम्रो नेपालको दृष्टिकोण असाध्यै नराम्रो छ । इण्डियामा मभन्दा बढी उमेरका प्रियंका चोपडाहरु अहिले पनि ‘टीन एजर्स’ भएर फिल्म खेलिरहेका छन् । तर, नेपालमा २५/३० वर्ष पुगेपछि बूढी भई भनेर हेर्ने गलत दृष्टिकोण छ । मैले अहिले बनाएको मालिका पनि यही बञ्देज विरुद्धको आवाज पनि हो । ३२ वर्ष पुग्नेवित्तिकै बुढी भई भन्ने विचारलाई मैले तोडिरहेकी छु, तोडी नै रहन्छु ।

केटा मान्छेले ४० वर्षको हुँदा बिहे गर्न हुन्छ, केटी मान्छेचाहिँ २५ वर्ष पुग्नेवित्तिकै बुढी भई भन्छन् । यो पूरै गलत सोचाई हो । म यसमा सहमतै छैन । मैले यसलाई व्यवहारबाटै गलत सावित गरिरहेकी छु ।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्नका लागि हामी माइतीघर मण्डलामा उभियौं । हामी केही भइहाल्यो भने यसरी अगाडि सर्छौं । राष्ट्रियता देखाउनका लागि पनि अगाडि सर्छौं । तर, यस्तै विषयवस्तुहरु उठाएर बनाइएको चलचित्र हेर्न हलसम्म गम्भीर भएर पुग्न कोही पनि चाहँदैन । हामीमा चोकमा बसेर, क्यारेम खेलेर अर्काको कुरा काट्ने बानी छ । यो संस्कारको अन्त्य हुन र हामी सबैले गम्भीर हुन जरुरी छ ।

नेपाली चलचित्रको बजार राम्रो छ

नेपाली चलचित्रको बजार अहिले राम्रो भइरहेको छ । राम्रो फिल्म बनेको अवस्थामा राम्रै चलिरहेको छ । कलाकारहरुको जीवनस्तरमा पनि अहिले धेरै नै सुधार भएको छ ।

सुरुमा मैले फिल्म खेल्दा चाँदीको एउटा क्वाइन पाएको हो । तर, मैले त्यतिबेलादेखि नै राम्रै पारिश्रमिक पाएँ । केटा मान्छेले पाउने पारिश्रमिकभन्दा पनि बढी नै हुन्थ्यो मेरो । किनभने, म एकदमै विद्रोही हुँ । समानताको कुरा गर्ने मान्छे हुँ । मेरो पनि कला उत्तिकै सशक्त छ भने एउटा पुरुष कलाकारभन्दा कम पारिश्रमिक किन लिने ? छोरी भएकै कारण मेरो पारिश्रमिक कम हुनु मलाई मान्य हुँदैन भन्थें मैले ।

अहिले कतिपय कलाकारहरुले धेरैवटा चलचित्रमा खेल्ने गरेको, टेलिसिरियल, युट्युब च्यानलमा समेत खेल्ने गरेको भनेर प्रश्नहरु उठाउने गरिएको छ । आफ्नो जिविकोपार्जन गर्ने अधिकार सबैलाई छ । कसैको आर्थिक अवस्थाका कारणले पनि त्यस्तो भएको होला । या कसैको सोख पनि होला । यसमा मैले कमेन्ट गर्न मिल्दैन । तर, मेरो सवालमा चाहिँ मैले त्यसो गर्नु परेन ।

नेपाली चलचित्र हेर्ने बानी अझै बसिसकेको छैन

हामीमा अझै पनि नेपाली चलचित्र हेर्ने बानी बसिसकेको छैन । अझै पनि हामीलाई विदेशी चिजले नै बढी आकषिर्त गरिरहेको छ, चाहे त्यो पहिरनमा होस् वा खाने कुरामा होस् । चाहे पिज्जा होस्, चाहे बर्गर होस् । हामीलाई नेशनल फुड त्यति मन पर्दैन । नेशनल ड्रेस मन पर्दैन । मैले भन्न खोजेको कुरा के हो भने हामी स्वदेशी चिजमा भन्दा अन्तैतिर बढी आशक्त छौं, यसलाई सच्याउनुपर्छ ।

अझै पनि नेपाली दर्शकहरुमा फिल्मको ईस्यु के हो भनेर, फिल्मको ईस्युलाई बढी प्राथमिकता दिएर चलचित्र भवनसम्म जानुपर्छ भन्ने संस्कार बसिसकेको छैन । समाजलाई परिवर्तन गर्नेखालको गम्भीर विषयवस्तु उठायो भने उपस्थिति कमै हुन्छ । हामीमा मनोरञ्जन र हँसिमजाकमै जिन्दगी बिताउने टाइपको सोचाइ भएर बिगि्रएको छ ।

अर्को कुरा, हामी नेपालमा बसेर अमेरिका वा युरोपियन देशहरुको कल्पना गर्छौं । तर, यही ठाउँमा बसेर हामीले कर्णालीको कल्पना किन गर्दैनौं ? हामी मुगुको कल्पना किन गर्दैनौं ? हामी तेह्रथुम, ताप्लेजुङको कल्पना किन गर्दैनौं ? यहीँ यतिधेरै सुविधाहरु पनि छन्, तर हामी आफ्नो देशको चेहरा किन हेर्दैनौं ?

जस्तो- मैले मालिकामा टेलिभिजन, गाडी, बिजुली केही पनि नदेखेका मानिसहरुको चेहरा लिएर आएकी छु । उनी जाजरकोटको शक्तिबहादुर बस्नेतको गाउँकी केटी हुन् ।

बालविवाह, दाइजो प्रथा, छाउपडी प्रथा र बलात्कार जस्ता जघन्य अपराधविरुद्ध आन्दोलनमा छ हाम्रो देश । तर, महिला अधिकारकर्मीहरुलाई पनि मेरो प्रश्न छ । हामी जहिले पनि महिला अधिकारका कुरा गर्छौं, हब हितका कुरा गर्छौं । महिला हिंसा अन्त्यको कुरा गर्छौं । तर, खोई कहाँ हिंसा अन्त्य भयो त ? जबसम्म हामीले दूरदराजका चेहराहरुलाई अगाडि ल्याउँदैनौं र तिनीहरुलाई अगाडि सार्दैनौं, तबसम्म हामी स्वतन्त्र महिलाहरुले सामाजिक सञ्जालमा मात्रै बोल्ने कुरा भयो ।

हामी साँच्चै नै सिरियस छौं भने दूरदराजका चेहराहरुलाई पनि बाहिर ल्याउन जरुरी छ । त्यसैले स्वस्फूर्त रुपमा यो हाम्रो देशको फिल्म हो, राष्ट्रिय फिल्म हो भनेर हेरिदिन जरुरी छ ।

जहाँसम्म नेपाली चलचित्रको क्वालिटीको कुरा छ, सबै नेपाली जनताले स्वदेशी चलचित्र हेर्ने संस्कार बसाइदिने हो भने क्वालिटी बढिहाल्छ । फिल्म नै नहेरिदिएपछि कलाकारहरुले पैसा कहाँबाट कमाउने ? अनि फिल्मको क्वालिटी कसरी बढ्छ ? तथापि विगतको भन्दा नेपाली चलचित्रको गुणस्तर बढिराखेको पनि छ । अहिले धेरै राम्रो भएको छ ।