गाडी चोरी शैलीमा लग्न थालेपछि नियन्त्रणमा लिनु परेको हो -मुख्यमन्त्रीको कार्यालय

७ प्रदेश अर्थ समाचार

धनगढी ।

सुदूरपश्चिम प्रदेश सरकार अन्र्तगत रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बैतडीमा रहेको बा.२ झ.२३५४ नम्बरको नयाँ गाडी चोरी शैलीमा लग्दै गर्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियन्त्रण लिएको छ ।

 

सहरी विकास तथा भवन निर्माण विभागका उप महानिर्देशक पदम मैनाली र हालै सरु वा भएका बैतडीका तत्कालिन डिभिजन प्रमुख प्रबिन साहको मिलेमतोमा प्रदेश सरकारलाई जानकारी नगराई बिभागबाट ल्याएको बा.१ झ.४३१५ नम्बरको पुरानो गाडी कार्यालयमा बुझाई नयाँ गाडी चोरीशैलीमा लग्न लागेको सुचना प्राप्त भएपछि मुख्यमन्त्रीको कार्यालयले गाडी नियन्त्रणमा लिएको हो ।

उक्त कार्यालय २०७५ जेठ २३ गतेदेखी प्रदेश सरकार मातहत आएपछि कार्यालय र कार्यालयमा रहेका गाडी लगायतका सामाग्रीहरुको सुरक्षाको निम्ति बैतडीका प्रजिअलाई प्रदेश सरकारका प्रमुख सचिव नारायण प्रसाद बिडारीले निर्देशन दिनु भएको थियो । प्रदेश सरकारका प्रमुख सचिव बिडारीको निर्देशन समेत लत्याउदै तत्कालिन डिभिजन प्रमुख साहले आफु सरुवा भएसंगै गाडी चोरीशैलीमा लग्न थालेको सुचना प्राप्त भएपछि गाडी नियन्त्रणमा लिनु परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

सहरी विकास तथा भवन निर्माण विभागका उप महानिर्देशक पदम मैनाली र बैतडीका तत्कालिन प्रमुख प्रबिन साहको निर्देशनमा विभागबाटै दुई जना सवारी चालक र एक जना कार्यालय सहयोगी पठाई गाडी चोरीशैलीमा काठमाण्डौं लग्दै गर्दा साझ करिब ८ बजे अत्तरीयाबाट गाडी नियन्त्रणमा लिईएको हो ।

केन्द्र सरकार अन्र्तगत रहेको कार्यालय खारेज भई प्रदेश सरकारको मातहतमा आएपछि उक्त कार्यालयमा भएका गाडीहरु यथावत राख्नु पर्ने भएपनि हाम्रो निर्देशनलाई अबज्ञा गर्दै चोरी शैलीमा गाडी लग्दै गर्दा नियन्त्रणमा लिनु परेको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव शिबसिंह ओलीले जानकारी गराए ।

ओलीका अनुसार सहरी विकास तथा भवन निर्माण विभागका उप महानिर्देशक पदम मैनालीको निर्देशनमा काठमाडौंबाट पुरानो गाडी ल्याई कार्यालयमा राखेर नयाँ गाडी लग्न थालेपछि मैनालीसंग स्पष्टिकरण समेत लिइएको छ ।