जुवा खालबाट तीन लाख सहित चेक बरामद, १६ जना पक्राउ

अर्थ समाचार
चितवन |  चितवन प्रहरीले जुवा खालबाट ३ वटा एक लाख दरका चेक र २ लाख ७७ हजार रुपैयाँ नगद बरामद गरेको छ ।

  

जुवा खालबाट प्रहरीले एक लाखको एउटा चेक सग्लो बरामद गरेको छ । त्यस्तै अन्य दुईवटा एक एकलाखकै २ वटा चेक भने जुवाडेले तत्कालै च्यातेको प्रहरीले जनाएको छ ।

प्रहरीले रत्ननगर न.पा.वडा नं. ९ बाट तास खेल्ने १६ जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट ७ बुक तास, दुई लाख ७७ हजार ७ सय ६० रुपैंया र एक लाख बराबरको चेक समेत प्रहरीले बरामद गरेको छ । प्रहरीले जुवाडेहरुको नाम भने सार्वजनिक गरेको छैन । पक्राउ पर्ने अधिकांश व्यवसायी रहेको प्रहरीले जनाएको छ ।

१७ र १८ कात्तिकमा छुट्टाछुट्टै दुई स्थानबाट कौडा खेल्नेहरुलाई चितवन प्रहरीले पक्राउ गरेको थियो । त्यहाँबाट पनि प्रहरीले कौडा र नगद बरामद गरेको थियो ।

नयाँ ऐनको फन्दामा जुवाडे
मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गत पहिलो पटक जुवा खेल्नेलाई ३० हजार रुपैयाँसम्म जारिवाना वा तीन महिनासम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

लागूऔषध सहित पक्राउ
त्यस्तै भरतपुरबाट लागूऔषध सहित एक पक्राउ परेका छन् । प्रहरी सहायक निरीक्षक सीताराम खतिवडाको कमाण्डमा खटिएको प्रहरी टोलीले भरतपुरमा मोटरसाईकल चेकगर्दा झोलामा जिरा भित्र लुकाई राखेको लागूऔषध डाईजेपाम ६० एम्पुल, व्युप्रिनर्फिन ६० एम्पुल, फेनारगन ६० एम्पुलर नाईट्राजेपाम ३०३ ट्याबलेट फेला परेको छ । प्रहरीले मोटरसाईकल चालक भारत उत्तर प्रदेश घर भएका ३७ वर्षीय रामनिवास गुप्तालाई पक्राउ गरेको छ ।